गणेश दाइ र आधारभूत शब्दकोश प्रति मेरो सम्मति

मन्तव्य

नेपाल प्राचीन कालदेखि नै बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय देश भए पनि संवैधानिक तथा कानुनी रूपमा यो सत्यलाई स्वीकार्न हजारौं वर्ष लाग्यो । दोस्रो पटक बनेको संविधानसभाबाट जारी भएको संविधानमा भाषा आयोग लगायत सातवटा समुदायगत आयोग र भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको व्यवस्था गरिए पनि राज्यको तर्फबाट स्रोतसाधन सहित नेपालमा भएका १२३ वटा भाषाहरूको संरक्षण र विकासमा समान चासो रहेको देखिदैन । अझै पनि एकल भाषा, संस्कृति र धर्मकै बोलवाला रहेको छ । आफ्नो पहिचानको लागि समुदाय आफैं रोईकराई गर्नु परिरहेको छ ।

यसै मेसोमा जन्तेढुङ्गा ६, निगालबास निवासी श्री गणेश पुमा चिन्तन दाइले सङ्कलन, लेखन र सम्पादन गर्नु भएको आधारभूत पुमा शब्दकोश (पुमा–नेपाली–अङ्ग्रेजी) प्रकाशन हुन लागेको कुराले म अत्यन्तै खुसी भएको छु । उहाँले यस शब्दकोशमा समेट्नु भएको शब्दहरू हामीले बाल्यकालमा पहिलो पटक बोलेका, किशोरावस्थामा संवाद, सल्लाह र झगडा गरेका शब्दहरू हुन् । हाम्रा आमाबुवाले पहिलो पटक सिकाउनु भएका शब्दहरू हुन् । जुन शब्द र भाषा घरमा सिकेको र विद्यालयमा बोल्दा अन्य भाषिक समुदायका मान्छेहरूले मान्छे खाने भाषा नबोल्न चेतावनी पाएका शब्दहरू हुन् । उहाँले विद्यालयमा अध्ययन गर्दादेखि नै पुमा राई शब्दहरू अर्थसहित लेख्ने, पुमा भाषामा गीत, मुक्तक र कविता लेख्ने गर्नुहुन्थ्यो । वि.सं. २०५२ सालताका हाम्रो गाउँको पारूहाङ कला समूह नामक सांस्कृतिक टोलीले पुमा राई भाषाका गीतहरू गाउँदा शब्द रचनामा हामी सँगै सहभागी थियौं । त्यसको केहि बर्ष पछाडि सञ्चालन भएको छिन्ताङ पुमा अभिलेखीकरण परियोजनाको टिमलाई उहाँले आफुले तयार गर्नु भएको पुमा भाषाको शब्द सङ्कलनको डायरी म मार्फत् उपलब्ध गराउनु भएको र केही समय हामी सो परियोजनामा सँगै काम समेत गर्ने मौका पाएका थियौं । पछि गणेश दाइ र म समेत सहलेखक भएको ‘पुमा शब्दकोश तथा व्याकरण’ वि.सं. २०६५÷६६(सन् २००९) मा सो परियोजनाकै प्राविधिक र आंशिक आर्थिक सहयोगमा किरात पुमा राई तुप्खाबाङ्खालाबाट प्रकाशित भयो । यो नै पुमा भाषाको शब्दकोश र व्याकरणको पहिलो पुस्तक हो ।

गणेश दाइ एक अथक यात्री हुनुहुन्छ । उहाँको अध्ययन, लेखन र जीवन यात्रामा मलाई पनि कहीँ न कहीँ सम्झिनु हुन्छ । मेरो यात्रामा पनि साथ दिनु हुन्छ । वि.सं. २०६४ बैशाखदेखि लगातार ४ अंक हामीले विराटनगरबाट पुमा राई भाषाको हालसम्मको एकमात्र पत्रिका ‘बुङवाफोप’ त्रैमासिक प्रकाशन शुरुवात ग¥यौं । दशै विदामा हामी गाउँ गएको बेला श्री पैयाटार प्रा.वि.निगालबासमा वि.सं. २०६४ कार्तिक २४ गते पुमा राई भाषाको पहिलो कविता प्रतियोगिता आयोजना ग¥यौं । बुङ्वाफोप् पत्रिका हाल अर्धबार्षिक रूपमा किरात पुमा राई तुप्खाबाङ्खालाको मुखपत्रको रूपमा प्रकाशन भइरहेको भए पनि दुःखको कुरा पुमा राई भाषाको दोस्रो कविता प्रतियोगिता हालसम्म आयोजना गर्न सकिएको छैन, भएको छैन । उहाँको पुमा राई भाषाको पहिलो पुस्तक ‘योङ्युप्चिदो’ (पाइलाहरूमा) सांस्कृतिक तथा सामाजिक उपन्यास प्रकाशन भइसकेको छ । पुमा राई भाषाको पहिलो गीति क्यासेटमा गणेश दाइलाई समेट्न नपाउँदा भने अहिले पनि नरमाइलो लाग्ने गर्छ । गणेश दाइ पुमा राई समुदायको लागि बहुप्रतिभाशाली र बहुयोगदानकर्ता हुनुहुन्छ । उहाँले किरात पुमा राई तुप्खाबाङ्खालाको वेभसाइट पुमाराई डट ओआरजी (धधध।उगmबचबष्।यचन) को प्राविधिक कार्य डिजाइन र निर्माण समेत भर्खरै सम्पन्न गर्नु भएको छ । त्यसैगरी पुमा राई भाषाको विद्यालय तहको पाठ्यपुस्तक पुमा ला (पुमा भाषा) कक्षा १ को सहलेखन, कम्प्युटर डिजाइन र लेआउट समेत गर्नु भएको छ । उहाँ पुमा राई मुन्दुमका राम्रो जानकार समेत हुनुहुन्छ । एक प्रकारले भन्नुपर्दा उहाँ चर्चामा आउन नचाहने तर पुर्खाको सम्पत्ति भाषा र संस्कृतिलाई लेख्ने र आधुनिक प्रविधिमा समेत प्रकाशन गर्न चाहने पुमा राई समुदायको अमूल्य निधि हुनुहुन्छ ।

उहाँको यस शब्दकोशले पुमा भाषा पठनपाठनको लागि विद्यालय तहका विद्यार्थी, शिक्षक, पाठ्यपुस्तक निर्माता, अभिभावक, पुमा भाषाका अध्येयता तथा अनुसन्धाता सबैलाई सहयोग पुग्ने आशा लिएको छु । कालो बादलमा चाँदीको घेरा भने झैं यो शब्दकोशले केहि मात्रामा भए पनि पुमा भाषा र साहित्यको संरक्षण र विकासमा समेत सहयोग पुगोस् र गणेश दाइको लेखन यात्रा अझै द्रुत गतिमा बढिरहोस् । सबै पुमा भाषी समुदायलाई बधाई तथा शुभकामना ।

२०७७ असोज १५ गते
श्रीकुमार पुमा राई, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *