मातृभाषा बचाउ अभियानमा महत्वपूर्ण पुस्तक

मन्तव्य

भाइ गणेश पुमा चिन्तनद्वारा संकलित तथा सम्पादित ‘आधारभूत पुमा शब्दकोश (पुमा-नेपाली-अँग्रेजी)’ हेर्ने अवसर प्राप्त भयो । साह्रै खुशी लाग्यो । वहाँलाई मैले एक अध्यावसायी युवाको रूपमा चिनेको झण्डै दुई दशक भयो । पुमा-छिन्ताङ्ग अभिलेखीकरण परियोजनामा सहायक अनुसन्धानकर्ताको रूपमा वहाँको नियुक्ति र त्यसपछि ५ वर्षको लामो सहकार्यबाट मैले वहाँलाई लगनशील कर्मठ युवाको रूपमा पाएको छु-  जो चुपचाप आफ्नो काम निरन्तर रुपमा गरिरहन्छ । यो पुस्तक वहाँको त्यही कर्मठताको परिणाम हो । 

संसारमा अल्पसङ्ख्यकहरूका भाषाहरू दिनानुदिन लोप हुँदैछन् र नेपालमा पनि । राई किराती भाषाहरू पनि लोप हुने स्थितिमा छन् जसमध्ये पुमा पनि एक हो । भाषाहरू लोप हुँदैछन् यो दुखद कुरो हो, तर यिनलाई बचाउने प्रयास पनि भइरहेका            छन् । मातृभाषामा शिक्षा, व्याकरण, शब्दकोश आदि पाठ्‍यसामग्रीहरूको निर्माण आदि यस दिशामा सकारात्मक कदमहरू हुन् । गणेश पुमा चिन्तनको यो पुस्तकले मातृभाषा बचाउ अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, विशेष रूपले यस बेला जबकि पुमा समुदायले प्राथमिक शिक्षामा पुमा भाषाको पठनपाठन संचालन शुरु गर्दैछ । 200 भन्दा बढी पृष्ठहरूमा समेटिएको यो पुस्तक पुमा तथा गैरपुमाभाषी दुवैको लागि उपयोगी हुनेछ ।

शब्दकोश सम्पादन असाध्ये मिहनेतको काम हो —समय, अर्थ र उर्जा सबै दृष्टिकोणले धेरै खर्चिलो । यो प्राविधिक कार्य पनि हो जसले द्विभाषी हो भने दुवै भाषाको र त्रिभाषी हो भने तीनै भाषाको व्याकरणीय ज्ञानका साथै भाषाविज्ञानको तथा कोशकला (lexicography) मा दक्षताको पनि माग गर्छ । यसका अतिरिक्त आधुनिक युगमा शब्दकोश निर्माणको लागि कम्प्युटर दक्षताको पनि उत्तिकै खाँचो हुन्छ। यसो भएको हुनाले यस पुस्तकमा प्राविधिक त्रुटि नभएका होइनन्, छन् । तर म भाषाविज्ञान र कोशकलामा दक्ष नभएकाले शब्दकोश त्रुटिरहित गर्न नसकेको गणेश भाइलाई होइन कि वहाँलाई मातृभाषाको निःस्वार्थ सेवागर्ने एक सपूतको रुपमा देख्छु । त्रुटि कहाँ हुँदैन र कसले गर्दैन- यस पाण्डुलिपिमा छन् तर यस कार्य र यस पुस्तकको महत्त्व र उपयोगितालाई विचारगर्दा ती त्रुटिहरू स्वतः ओझेलमा पर्छन् । शब्दकोश सम्पादन जस्तो गहन तथा समयसाध्य, श्रमसाध्य कार्यलाई एक्लै पुरा गर्न सकेकोमा म वहाँलाई धेरै धन्यवाद दिन्छु । वहाँको यो कार्य स्तुत्य र अनुकरणीय छ ।

भातृभाषाको सेवा सदैव यही तत्परताका साथ गरिरहनु हुनेछ भन्‍ने आशा तथा विश्वासका साथ-

शुभेच्छु
प्रा.डा. विष्णु एस राई
कीर्तिपुर ९

Leave a Reply

Your email address will not be published. Required fields are marked *