सम्पादकीय

सम्पादकीय

भाषा, संस्कार तथा रीति रिवाज समाजको ऐना हो । यसले नागरिकको सामाजिक, आर्थिक, राजनीतिक, भौगोलिक स्थिति, रहनसहन र विकासलाई प्रतिविम्वित् मात्र गर्दैन, राज्यले नागरिकका मौलिकता संरक्षणसँगसँगै उनीहरूको सर्वाङ्‌गिण विकासमा के कस्ता अवसरहरू कुन प्रकारले वितरण गरेको छ भन्‍ने तथ्यहरू समेत दृष्टिगत गराउँदछ। राज्यले नागरिकका अवसरहरू समानुपातिक, समतामूलक र समावेशी रूपमा वितरण गरेको छ कि छैन भन्‍ने तथ्य सामाजिक स्थितिको ऐनाबाट छर्लङ्‌ग देख्‍न सकिन्छ ।

नेपालमा विभिन्‍न राजनीतिक व्यवस्थाहरूको उतारखढाव हुँदै गर्दा पछिल्लोपटक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्ने उद्देश्यका साथ वि.स. २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको छ । यस संविधानले हरेक नागरिकको समस्यालाई संवोधन गर्दै उनीहरूको बहुआयामिक अधिकारहरूको ससुनिश्‍चतता गरेको छ र यसले देशमा अग्रगामी विकासको मूल फुटाउछ भनिएको छ । यद्यपि यस संविधानबाट असन्तुष्ट समूह पनि नभएका होइनन् ।

नेपालको सविधानले सिंहदरबारको अधिकार, सेवा तथा सुविधाहरू गाउँसम्म पुर्‍याउने लक्ष्य लिएको छ । संविधानत: राज्यमा मौजुद सबै भाषा र संस्कृतिलाई समान अवसर दिदै तिनीहरूको औपचारिक पठनपाठनमासमेत समानताको सिद्धान्त अपनाइनेछ भनिएको छ । तर व्यवहारिकत: यो लक्ष्य कतिसम्म सुनिश्‍चित गरिन्छ भन्‍ने हेर्न बाँकी नै छ । पाठ्‍यक्रम विकास केन्द्रमा भाषिक पुस्तक प्रकाशनको लागि निवेदन परेपछि बहुसङ्ख्यक वक्ता रहेको भाषिक पुस्तकलाई बढी र कम वक्ता भएको भाषिक पुस्तकलाई कम प्राथमिकता दिदै कम वक्ता भएको पुस्तक पछि छाप्ने भन्‍ने पाठ्‍यक्रम विकास केन्द्रको नियम नै उल्टो भएको विज्ञहरू बताउनु हुन्छ । किनभने बढी वक्ता भएको भाषा त आफै जिउन सक्छ तर कम वक्ता भएको भाषा निकट भविष्यमा लोप हुनसक्छ । त्यसैले संविधानमा लेखिएजस्तो व्यवहारमा हुन्‍न भनेर प्रश्‍न उठाउने ठाउँ देखिएको छ ।

पुमा भाषाको यो आधारभूत शब्दकोशमा करीब २ हजार वटा शुद्ध पुमा शब्दहरूको अर्थ (नेपाली र अङ्‌ग्रेजीमा) राख्‍नुका साथै पुमा र नेपाली शब्दलाई बुझ्न सरल हुनेगरी वाक्यमा प्रयोग गरिएको छ । यस शब्दकोशले पुमा भाषाको पाठ्‍यक्रम पाठ्‍यपुस्तकले अङ्‌गिकार गरेको वार्णिक व्यवस्थालाई नै आधार मानेको छ ।

यस पुस्तका प्रयोग गरिएका वर्णहरू देहाय बमोजिम रहेका छन् –       (क) स्वरवर्णहरू – अ, आ, इ, उ, ए, ओ ।

(ख) व्यञ्जन वर्णहरू –  

क्     ख्     ग्      घ्      ङ्     

च्      छ्     ज्      झ्    

ट्      ठ्      ड्      ढ्     

त्      थ्      द्      ध्      न्     

प्      फ्     ब्     भ्       म्     

य्      र्      ल्     व्     

स्      ह्     न्ह्     म्ह्    ʔ              

यसरी पुमा भाषामा ६ वटा स्वरवर्ण र ३३ वटा व्यञ्जनवर्णहरू रहेका छन् । जसलाई यस शब्दकोशमा स्पष्टसँग उल्लेख गरिएको छ । शब्दकोशमा प्रचलित नियमलाई आत्मसात् गर्दै सबै मात्रा ह्रस्व लेखिएका छन् । पुमा भाषीहरूलाई पुमा गन्तीको समेत ज्ञान होस् भनी पुस्तकको अन्त्यमा पुमा गन्ती तालिका समेत समावेश गरिएको छ । पुस्तकले पुमा भाषा अध्ययन गर्ने आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का विद्यार्थीहरूलाई शुद्ध पुमा शब्द र अङ्‌क ज्ञान समेत प्रदान गर्ने विश्‍वास गरिएको छ ।

पुमा शब्द तथा वाक्य लेखनसम्बन्धी स्थापित मान्यता निम्नबमोजिम रहेको छ-

१. पुमा भाषाको उच्चारणमा दीर्घ स्वर छैन । त्यसैले सबै मात्रा ह्रस्व लेखिन्छ । इकार भन्दा अघि आधा अक्षर (वर्ण) उच्चारण भएमा सो अक्षर पूरा लेखी खुट्टा काट्ने गरिन्छ, (जस्तै: खिप्‌दि)।

२. य (वर्ण) भन्दा अघि आधा अक्षर (वर्ण) उच्चारण भएमा सो अक्षर पूरा लेखी खुट्टा काट्ने गरिन्छ, (जस्तै: बेन्‌याङ्) ।

३. मानिसको नामको अन्तिम अक्षर आधा उच्चारण भए पनि हलन्त राखिन्‍न, तर अन्य शब्दहरूको अन्त्यमा आधा अक्षर उच्चारण भए अन्तिम अक्षरमा हलन्त लेख्‍ने गरिन्छ, (जस्तै: बेन्‌) ।

४. कण्ठस्पर्शी (अल्पघोष) (ग्लोटल) वर्ण ʔ को उच्चारण जनाउन (ʔ) लेख्‍ने गरिन्छ, (जस्तैः माʔवा) ।

५. अनुसन्धानबाट प्राप्त निष्कर्षअनुसार नासिक्य अघोष प्राणत्व वर्णहरू ‘न्ह’ र ‘म्ह’  आधा ‘न’ र ‘ह’ वा आधा ‘म’ र ‘ह’  को संयुक्त वर्ण होइनन् । यी तीनै सग्ला वर्ण हुनाले सोही रूपमा प्रयोग गर्ने गरिन्छ ।

६. एन्चि/एन्च, केन्चि/केन्च, कचि/कच, केचिका/केचका, चाआनम्/चाआनुम्, पअङ्/पङ् जस्ता स्थानगत भेद देखिने सबै शब्दहरूमा एन्चि, केन्चि, कचि, चाआनुम्, मेन्चोक्दानुम्, पअङ्लाई औपचारिक रूपमा प्रयोग गर्ने गरिन्छ ।

७. दोकङ्/दोङ्कङ्/दोकोङ्/दोङ्‌कोङ् जस्ता शब्दहरूमा दोकङ्लाई औपचारिक रूपमा प्रयोग गर्ने गरिन्छ ।

८. नेपाली भाषाको “लागि र लाई” शब्द पुमा वाक्यमा आवश्यक हुँदैन। त्यसैले यी शब्दहरू औपचारिक रूपमा प्रयोग गरिदैनन् ।

९. पुमा भाषा लेखनलाई सहज र सरल बनाउन मिश्रित (संयुक्त) अक्षरहरूलाई समेत एकल (सामान्य) बनाएर लेख्‍ने गरिन्छ, (जस्तै: द्म को सट्टा द्‌म) ।

यस शब्दकोशमा प्रयोग भएका संक्षिप्त रूपका पूर्ण रूपहरू देहायबमोजिम रहेका छन् –

स.क्रि.  – सकर्मक क्रिया

अ.क्रि.  – अकर्मक क्रिया

क्रि.वि.  – क्रिया विशेषण

क्रि.    – क्रिया

वि.     – विशेषण

निपा.   – निपात

विभ.    – विभक्ति

ना.     – नाम

सर्व.    – सर्वनाम

अव्य.   – अव्यय

ना.यो.   – नामयोगी

संयो.   – संयोजक

प.स.   – परसर्ग

शब्दकोशको पाण्डुलिपि अध्ययन गरी महत्त्वपूर्ण सल्लाह, सुझाब तथा शुभकामना दिनुहुने प्रा.डा. नोबलकिशोर राई, प्रा.डा. विष्णु एस राई, श्री श्रीकुमार पुमा राई (सहसचिव, नेपाल सरकार) प्रति अमूल्य ऋणि छु। त्यस्तै भाषा तथा व्याकरणमा सहयोग गर्नुहुने श्री खगिन्द्र (पुनम) पुमा राई प्रति कृतज्ञता व्यक्त गर्दछु । साथै व्यस्त समय तालिकाका बाबजुद् आवश्यक सुझाब, सल्लाह तथा सहयोग गर्नुहुने मेरो जीवनसहयात्री डिसुजा राई तथा छोरो कोङमिनचोङ पुमा राई प्रति पनि आभार व्यक्त गर्दछु । शब्दकोशको प्रकाशनको जिम्मा लिई पाठक समक्ष पुर्‍याउन अहम् भूमिका खेल्ने किरात पुमा राई तुप्खाबाङ्‌खाला, ललितपुर र जन्तेढुङ्‌गा गाउँपालिका तथा अध्यक्ष श्री शंखर बहादुर राई प्रति असङ्‌ख्य कृतज्ञता व्यक्त गर्नुका साथै सम्पूर्ण सहयोगी महानुभावहरू प्रति धन्यवाद व्यक्त गर्दछु । अन्तमा, सम्पूर्ण पाठक तथा विद्वान महानुभावहरूबाट सल्लाह सुझाब तथा रचनात्मक प्रतिक्रियाको अपेक्षा गर्दछु ।

 

गणेश पुमा चिन्तन
नयाँ बानेश्‍वर, काठमाडौं
ganeshchintan@gmail.com
www.salappatech.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *